‘मोटरसाइकल–ट्याक्सी’ काठमाडौंमा भित्रियो

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- काठमाडौंबासीका लागि एउटा खुसीको खबर छ । एउटा नयाँ अवधारणासहितको ‘मोटरसाइकल–ट्याक्सी’ काठमाडौंमा भित्रिएको छ । सोचिरहनुभएको होला, के हो मोटरसाइकल–ट्याक्सी ? आफू कुनै ठाउँमा जानुपरेको छ भने मोटरसाइकल बोलाउने र गन्तव्यमा पुगेपछि मोटरसाइकल चालकलाई भाडा दिने । यस्तो सुविधा दिएको छ ‘टुटल एप’ ले ।

यो एउटा यस्तो एप हो जुनमार्फत राजधानीका यात्रुले मोटरसाइकल चालकहरुलाई सम्पर्क गरेर तत्काल यो सुविधा लिन सक्छन् । यसको लागि इन्टरनेटको प्रयोग गर्नुपर्छ । यो सुविधा दिन चाहने र सेवा लिन चाहने दुबैले आफ्नो मोबाइलमा यो एप डाउनलोड गर्नुपर्छ । टुटलले सुविधा लिन चाहने व्यक्तिलाई उनीहरुकै बाटो भएर यात्रा गरिरहेका मोटरसाइकलधारीसँग सम्पर्क गराइदिन्छ । यो सेवाका दिन चाहने मोटरसाइकलधारीले आफ्नो नाम, मोटरसाइकलको विवरण र लाइसेन्सलगायतका आवश्यक विवरण उक्त एपमा दर्ता गनुपर्छ भने सुविधा लिने व्यक्तिले पनि एपमा उपलब्ध एक फारम भर्नुपर्ने हुन्छ । एकपटक यो प्रक्रिया पुरा गरिसकेपछि राजधानीको कुनै पनि ठाउँबाट सेवा लिन र दिन सकिनेछ ।

बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म उपलब्ध गराइएको यो सुविधा लिएबापत् यात्रुले कम्तीमा पनि तीन किलो मिटरसम्मको ५० रुपैयाँ तिर्नुपर्छ । प्रति किलोमिटरमा १२ रुपैयाँ थप हुँदै जान्छन् । एप मार्फत आफू नजिकै रहेको मोटरसाइकल चालकलाई सम्पर्क गरेर बोलाउन सकिन्छ । यदि कुनै मोटरसाइकलधारीले प्रस्ताव अस्विकार गरे नजिकै रहेका अर्कालाई उक्त मेसेज जान्छ । एपमा आफू रहेको स्थान र गन्तव्य र सेवा चाहिने समय उल्लेख गरी एपमा राखेपछि गन्तव्यसम्मको दूरी र लागत रकम उल्लेख हुन्छ । तपाईंले बुक गर्नुभन्दा पहिले नै पैसा तोकिएको हुन्छ ।  यसमा सहमत हुनुहुन्छ भने तपाईंले यो सेवाका लागि बुक गर्न सक्नुहुन्छ । सेवा लिएबापत् यात्रुले भाडा दुई किसिमले तिर्न सक्छन् । भाडा कि त मोटरसाइकलवालालाई नै दिन सक्नुहुन्छ कि इ–सेवामार्फत तिर्नुपर्ने हुन्छ । यस्तो सेवा प्रदान गर्न टुटलकै कर्मचारी हुनुपर्छ भन्ने छैन । जोसुकैले पनि यो कम्पनीसँग सहकार्य गर्न सक्छन् । कोही पनि मोटरसाइकल चालकले ओहोर–दोहोर गर्ने सडकमा पायक पर्ने गरी यात्रुलाई गन्तव्यमा पुर्याउन सक्छन् ।

सेवा दिएबापत् यात्रुले तिर्ने रकमको २० प्रतिशत कम्पनीलाई दिएर अरु पैसा चालकले आम्दानीको रुपमा राख्न सक्छन् । विदेशमा अभ्यासमा रहेको यो चलन नेपालमा भने नयाँ छ । यसको परिक्षण सेवा एक महिनाअघि सुरु गरिएपनि टुटल एपमा अहिलेसम्म पाँच सयभन्दा बढि मोटरसाइकल दर्ता भइसकेका छन् । अहिले यसको सेवा लिनेहरु दैनिक ४० देखि ५० जना रहेका छन् ।