लघुकथा : “लिफ्ट” – प्रकाश्था

By प्रकाश धिताल     

Prakastha 1765678रातको ९ बजिसकेको थियो । घर फर्कन ढिलो भईसकेकोले म हतारमा थिए । देशभर भारतीय नाकावन्दिको प्रभावले सडकमा गाडीहरु खासै थिएनन् । आफूसंग भएको सवारी साधनमा वटुवाहरुलाई लिफ्ट दिने अभियान चलेको थियो । म पनि बाईकमा एक्लै भएकोले कसैलाई लिफ्ट दिन ईच्छुक थिए । सडक प्राय सुनसान जस्तै थियो । जादाजादै स्वयम्भू नजिकै कसैले हात दिएर लिफ्ट मागेको देखे । बाईक रोके । जव उसलाई देखे म झस्किए । उसको पहिरन देखेर मेरो सातो गयो । सेतो सारी लगाएकी अनि हातमा मैनबत्ति लिएकी एक युवति थिई ऊ । मलाई डर लाग्याे । सानो हूंदा कथामा सुनेको किचकन्निको याद आयो । धड्कन तेज रफ्तार ले दौड्न थाल्यो । निधारबाट चिट्चिट् पसिना आयो । भागौ या के गरू मेसो पाउन सकिन ।
“दाई मलाई कलंकीसम्म लिफ्ट दिनु न”, उसले मधुर स्वरमा भनि । के गर्ने के नगर्ने, मलाई आपत पर्यो । म ट्वाल्ल परेर हेरेको देखेर उसले भनि,”नडराउनुस दाई म तपाईले सोचेको जस्तो भूत होईन । हाम्रो समूहको एउटा सानो नाटक मञ्चन थियो, ढिलो भएकोले लुगा नफेरिकनै दौडिएको।” यति बनेपछि मैले लामो सास फेरे अनि बिस्तारै भने,” कमसेकम लुगा त फेर्नु पर्छ, यो आधा रातमा सेतो सारीमा ……. मेरो त होश नै उडेको थियो ।” ऊ मुसुक्क मुस्काउदै पछाडी बसि । अनि मैले बाईक कलंकीतिर सोझ्याए । बाटोमा हामीले उसको नाटकको बारेमा कुरा गर्यौ । अनि नेपालको वर्तमान परिस्थिति र भारतको रवैयाको पनि कुरा गर्यौ । उ पनि निराश थिई खासै केही बोलिन । केही बेरमा हामी कलंकी पुग्यौ ।
“ल तिम्रो कलंकी आईपुग्यो”, भन्दै मैले बाईक रोके । ऊ पनि धन्यवाद टक्रयाउदै आफ्नो बाटो लागि तर अचम्म उसको हातको मैनबत्ति निभेको थिएन ।
अचानक मेरो बाइकको स्टार्ट बन्द भयो । स्टार्ट गर्न खोजे तर भएन । दुई चार चोटि किक हाने, केही सिप लागेन । एकैछिनमा हस्याङफस्याङ गर्दै एउटा मान्छे म भएको ठाऊमा आयो ।
“दाई मलाई स्वयम्भूसम्म पुर्याईदिनु न, मलाई ठूलो आपत पर्यो । मेरी श्रीमती दुर्घटनामा परेकी छिन् रे ।” उसले एकै सासमा सुनायो । म अप्ठ्यारोमा परे । “हुदैन, एक त मेरो बाईक पनि स्टार्ट भईरहेको छैन”, भन्दै मैले फेरी बाईकलाई किक हाने । अपत्यारिलो तरिकाले बाईक स्टार्ट भयो । ऊ मेरो अगाडी हात जोडेर उभिरहेको थियो । माया लाग्यो । ल हुन्छ भन्दै मैले बाईक घुमाए ।
एकैछिनमा हामी स्वयम्भू पुग्यौ । उसले मलाई भित्रको बाटोमा जान आग्रह गर्यो । हामी दुर्घटनास्थल पुग्यौ । त्यंहा मानिसको भिड थियो । विचमा एक युवति रगतमा लत्पतिएकी थिई। ऊ मरिसकेकी थिई । मैले अलि नजिकबाट उसलाई नियाले । मेरो फेरी होश उड्यो । जुन युवतिलाई मैले कलंकीसम्म लिफ्ट दिएको थिए यो उसैको लाश थियो । ।
– प्रकाश्था