नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबार प्रणाली तत्काल स्थापना गर्ने निर्णय

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबार प्रणाली तत्काल स्थापना गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनले वाइको कम्पनीसँग नेप्सेले गरेको सम्झौता कार्यान्वयन गर्नु भनि आदेश दिएको आधारमा नेप्सेले अनलाइन कारोबार प्रणाली स्थापनाको काम तिब्र पार्ने निर्णय गरेको हो । नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले मेरोलगानी डटकमलाई दिएको जानकारी अनुसार वाईकोलाई अनलाइन कारोबार प्रणाली स्थापना कार्य अगाडि बढाउन भनिएको छ ।

दुई वर्ष अगाडि नेप्सेले पुरानो सफ्टवेयर विस्थापन गरि नयाँ राख्न बोलपत्र आह्वान गरी वाईकोको टेन्डर स्विकृत भएकोमा अदालतमा मुद्धा परेपछि यो प्रक्रिया अवरुद्ध भएको थियो । नेपाली सफ्टवेयर कम्पनी वाईको प्रालिले भारतिय कम्पनी इन्फिनिटी कम्प्युटर सोलुसनलाई साझेदार बनाएर १८ करोड रुपैयाँमा अनलाइन कारोबार प्रणाली निमार्णको ठेक्का पारेको थियो ।

वाईकोले तत्काल काम अगाडि बढाउन नेप्सेसँग पेश्की बापतको रकम समेत मागेको बुझिएको छ । नेप्सेसँग एक बर्ष अगाडि वाईकोले गरेको सम्झौतामा १४ महिनाभित्र सफ्टवेयर तयार गरेर प्रयोगमा ल्याउने कुरा उल्लेख भएपनि त्यो काम ६ महिनाभित्रै गर्न सकिने वाईकोका अधिकारीले बताउदै आएका छन् । अनलाइन कारोबार प्रणाली संचालनमा आएपछि घरमै बसेर लगानीकर्ताले इन्टरनेटको माध्यमबाट सेयर किनबेच गर्न सक्नेहुँदा लगानीकर्ताले अहिले भोग्दै आएको सास्ती र अनेक समस्या स्वत: समाधान भएर जानेछ ।