‘आफ्नो देश बनाउछौ कि विदेशमै रमाउँछौ ?’ नेपालीलाई ट्रम्पको प्रश्न

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीलाई सोधेका छन्– देश बनाउँछौं कि विदेशमै रमाउँछौ ? ट्रम्पले आप्रवासीहरुलाई अमेरिका पस्न र बस्न कडाई गर्ने घोषणा गरेका थिए । यही घोषणाले उनलाई चुनाव जितायो । राष्ट्रपति पद सम्हालेपछि उनले केही देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । उनको यो निर्णयले विश्वव्यापी हलचल ल्याएको छ । ट्रम्पको यो कदम हरेक नेपालीका लागि प्रश्न पनि हो र त्यो प्रश्न हो– ‘आफ्नो देश बनाउँछांै कि विदेशमै रमाउँछौ ?’ भनेर साँघु साप्ताहिक ले समाचार छापेको छ ।

आप्रवासीप्रति कडा अमेरिकी नीतिको पछिल्लो पृष्ठभूमि भने युरोपमा तयार भएको मान्न सकिन्छ । युरोपका विभिन्न मुलुकले आप्रवासीप्रति कडा नीति अपनाउन थाले । बेलायत, जर्मनी, फ्रान्स, डेनमार्क, इटाली, स्पेन, नर्वे, स्वीडेन, बेल्जियमलगायतका देशहरुमा आप्रवासन बन्द गर्नुपर्ने, आफ्नो देशमा सजिलै विदेशी छिर्न दिन नहुने माग उठिरहेको छ । र, यस्ता माग प्रवल बन्दै गइरहेको छ । आप्रवासीप्रति अनुदार दलहरु चुनावमा बलियो हुन थालेका छन् । वेलायतले युरोपियन युनियन त्याग्नुको एउटा कारण आप्रवासीलाई स्वीकार्नुपर्ने बाध्यता पनि हो । शीतयुद्धपछि पश्चिमाहरुले एसिया तथा तेस्रो विश्वका मुलुकहरुमा जातीय राजनीतिलाई बढावा दिन लगानी गरे । त्यसको परिणाम नेपाललगायतका देशहरुमा देखिंदैछ । तर, पूर्वमा फैलाइएको जातीय राजनीतिले पश्चिमी मुलुकहरुलाई पनि छाडेन । पश्चिमा मुलुकहरुमा जातिवादी राजनीतिक धारका पार्टीहरु मौलाउन थाले । त्यसो त पश्चिमी मुलुकहरुमा जातिवाद नयाँ होइन । हिटलरको नाजीवादले विश्वलाई एकपटक तहसनहस पारिसकेको हो । अहिले फैलँदो जातिवाद चाहिं नाजीवादको घोडा चढेर आएको होइन । नाजीवाद नश्लीय थियो, अहिले पश्चिमी जगतमा फैलिएको जातिवाद आप्रवासनको घोडा चढेर आएको छ ।

पश्चिमाहरुले नेपालमा फैलाएको जातिवाद बेग्लै बहसको विषय हो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन विरुद्ध महाअभियान छेड्नु भने नेपालको हितमा हुनसक्छ । ट्रम्पको अभियानको दूरगामी परिणाम आउने निश्चित छ । विश्व राजनीतिको धूरीका रुपमा रहेको अमेरिकाले विश्वलाई नै प्रभावित पार्ने गरी चालेको कदमले निश्चय पनि विश्वव्यापी प्रभाव पर्छ नै । राष्ट्रपति ट्रम्पको यो अभियानले विश्व राजनीतिलाई विगतमा कहिले नसोचिएको र परिकल्पना नगरिएको बाटोमा पनि लैजान सक्छ । राष्ट्रपति ट्रम्पको कदमबाट विश्वव्यापी रुपमा अतिवादी तथा दक्षिणपन्थी शक्तिहरु प्रेरित हुनसक्छन् । त्यसको प्रभाव नेपालमा पर्छ नै ।