फेसबुकमा ‘एसेप्ट’ गर्न पाण्डेको दवाब

By प्रकाश धिताल     

पछिल्लो समय युवा पुस्ताहरुको मन जित्न सफल गायक भुपु पाण्डेले अर्को नयाँ गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन । केही समय अगाडी एल्वम ‘मायावी’मा समावेश गीत ‘चम्पा’ र ‘सुरुमै काम सोधे’ जस्ता लोकप्रिय गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरेका गायक पाण्डेले अर्को गीत ‘एसेप्ट गर’ वोलको गीतको भिडियो लिएर बजारमा आएका हुन ।

गीतमा गायक पाण्डेलाई गायिका संगीता थापाले साथ दिएकी छिन । ‘एसेप्ट गर’लाई गीतकार एकेन्द्र खड्काले लेखेका हुन भने संगीत गायक पाण्डेले नै गरेका हुन । पाण्डे आफुले गाउने प्राय सबै गीतहरुमा संगीत आफै भर्छन । समयलाई बुझेका गायक पाण्डेले आधुनिक,पप मात्र होइन धेरै भजनहरु पनि गाएका छन । उनको आवाजमा रहेको भजन ‘डमडम डमरु बज्यो’ निकै चर्चित छ ।
नयाँ म्युजिक भिडियो ‘एसेप्ट गर’मा हिजो आज बजारमा चलचित्र ‘लुट २’को गीत ‘ठमेल बजार’बाट तहल्का मच्चाइरहेकी मोडल एलिसा राईको दमदार अभिनय रहेको छ । भिडियोलाई D-inxectz Crew ले निर्देशन तथा निर्माण गरेको हो । युवा पुस्तामा लतका रुपमा रहेको ‘फेस बुक’मा जे पायो त्यही ट्याग गर्ने परिपाटीलाई मध्यनजर गर्दै गीतको भावलाई समेटेर  रमाइलो पारामा भिडियो निमार्ण गरीएको छ ।

युवाहरुलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतको म्युजिक भिडियोले धेरैको मन जित्न सकिन्छ कि भन्ने आशा लिएको गायक पाण्डेले बताए । ‘एसेप्ट गर’लाई ज्ञानेन्द्र शर्माले छायाङ्कन तथा प्रविन श्रेष्ठले सम्पादन गरेका हुन ।