यसवर्षको अहिले सम्मकै सबैभन्दा चिसो आज

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेकोछ । शुक्रबार धेरै ठाउँमा यो वर्षकै चिसो रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले दिउँसो पनि चिसो हावा चलेपछि देशभरी नै चिसो बढेको हो । काठमाडौंको न्यूनतम तापक्रम बिहान यो वर्ष कै कम १ दशमलव ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । बिहीबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ४ डिग्री सेल्सियस थियो । अहिले काठमाडौंमा हुस्सु लागेको छ । यस्तै पानी परेपछि डडेलधुरामा बिहीबार यो वर्षकै चिसो भएको छ ।

बिहीबार त्यहाँको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो । शुक्रबार बिहान भने बढेर शून्य दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । यसैगरी गएको २४ घण्टाको जिरीको न्यूनतम तापक्रम यो वर्षकै कम माइनस ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिमाली क्षेत्रमा हिमपात भएकाले देशभरी नै चिसो बढेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार सुदूरपश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा आजपनि फट्टफुट्ट पानी पर्ने अनुमान छ । त्यहाँको मौसम आज दिनभरी नै बदली हुने उहाँले जानकारी दिनुभयो । तर तत्काल ठूलो पानी पर्ने संभावना छैन ।