राजधानीमा नेकपा एमाले सहित ९ विपक्षी दलको शक्ति प्रदर्शनका कारण ट्राफिक जाम

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं-  काठमाडौंमा नेकपा एमालेसहित ९ विपक्षी दलको शक्ति प्रदर्शन सुरू भएको छ। दिउसो १ बजेदेखि उपत्यकाका ४० स्थानबाट र्‍याली निकाल्ने पूर्व योजना अनुसार नै र्‍यालीहरू सुरू भएका छन्। सबै र्‍यालीको जमघट रत्नपार्कमा हुनेछ। रत्नपार्कमा जुट्ने मुल र्‍यालीको अगुवाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। ‘रत्नपार्कमा मुख्य जमघट हुनेछ,’ पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ‘मुल र्‍यालीलाई अध्यक्षले नेतृत्व गर्नुहुनेछ र सभास्थल प्रदर्शनी मार्गमा पुगेर ३ बजे सभा सुरु हुनेछ।’ अन्य ८ दलका पार्टी अध्यक्ष र एमालेका वरिष्ठ नेताहरु पनि रत्नपार्कबाटै मुल र्‍यालीमा सहभागी हुनेछन्। संविधान संशोधन प्रस्तावको विरोधमा यो प्रदर्शन आयोजना गरिएको हो।

र्‍याली र सभाको पूर्व तयारी र जमघटका कारण उपत्यकाको ट्राफिक व्यवस्था विहान ११ बजेदेखि नै अस्थव्यस्त बनेको छ। एकलाख बढि कार्यकर्ता सडकमा उतार्ने योजना रहेको एमालेको दावी छ। कम ट्राफिक जाम गर्ने उद्देश्यले सभास्थल प्रदर्शनीमार्ग रोजिएको एमाले नेताहरूको भनाइ छ। प्रदर्शनी मार्गमा सभा हुँदा वैकल्पिक मार्गहरू प्रयोग गर्ने सुबिधा रहेको उनीहरूको तर्क छ। ‘यति ठूलो प्रदर्शनमा सडक प्रभावित हुनेनै भयो,’ प्रचार विभाग प्रमुख भट्टराईले भने ‘ट्राफिक जामको चिन्ता हो भने, म प्रचण्ड नेतृत्वको सरकारलाई ५ लाख जनता अट्ने टुडिखेल बनाउन आग्रह गर्छु, एमाले पनि श्रमदान गर्न तयार छ।’ उनले थपे ‘अब एमालेका सभामा लाख भन्दा कम जनता हुँदैनन्, ठूलै टुडिखेल चाहिन्छ।’