अग्रज कलाकार बिष्णु भक्त फुयाँलको निधन…

By प्रकाश धिताल     

टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’ का रुपमा चर्चित भएका रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा उनको निधन भएको हो ।

अभिनय गर्दागर्दै मर्ने चाहना छ भन्ने गरेका उनको नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ मा अभिनयकै क्रममा निधन भएको हो । संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित र बद्री अधिकारीले निर्देशन गरेको नाटकमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । त्यस क्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले जानकारी दिइन् ।

चिकित्सकहरुले साँझ ६ः१० बजे उनको निधन भएको घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । भोलि बिहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा राखिने जनाइएको छ ।

१९९४ साल भदौ २३ गते भक्तपुरमा जन्मिएका उनी झण्डै पाँच दशकदेखि रंग क्षेत्रमा सक्रिए थिए । फुयाँलका ‘बाध्यता’ र ‘शहीदको सपना’ नाटक संग्रह प्रकाशित छन् । उनले तीतो सत्य, मधुमालती, इन्द्रावती लगायत दर्जनौं टेलिफिल्म र चलचित्रहरुमा अभिनय गरेका छन् ।