वैदेशिक रोजगारका नाममा समाजमा फैलियो नयाँ रोग : डरलाग्दो ‘डिभोर्स’

By कृष्ण प्रसाद पौड्याल     

चितवन- लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएका भरतपुरका राधेश र समीक्षा (नाम परिवर्तन) ले यही महिना चितवन जिल्ला अदालतबाट सम्बन्धविच्छेद (डिभोर्स) गरे । वैदेशिक रोजगारमा गएका राधेशले समीक्षामाथि अनैतिक सम्बन्धको आरोप लगाएपछि अन्ततः उनीहरुको दाम्पत्य जीवन सम्बन्धविच्छेदमा गएर टुङ्गियो । त्यस्तै, रत्ननगरका शिव र सावित्री (नाम परिवर्तन) बीच पनि विवाह भएको ५ वर्षपछि चितवन जिल्ला अदालतमै सम्बन्धविच्छेद भयो । दुबैले एकले अर्कालाई बुझ्न नसक्दाको नतिजाले सम्बन्धविच्छेद गरायो । शिव साबित्री दुबैले एकले अर्कालाई पर व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाउँदा उनीहरुको दाम्पत्य जीवन सफल भएन ।यी दुई जोडीको मात्र होइन, साउन यता मंसिर मसान्तसम्म २१५ जोडीले चितवन जिल्ला अदालतबाट सम्बन्धविच्छेदको लागि निवेदन दिएका छन् । जसमध्ये यो ५ महिनाको अवधिमा १३३ जोडीले चितवन अदालतमा सम्बन्धविच्छेद गरिसकेका छन् ।

‘सम्बन्धविच्छेदको यो डरलाग्दो तथ्याङ्क हो, पछिल्लो समय सम्बन्धविच्छेद गर्नेहरुको तथ्याङ्क हेर्दा सबैलाई झस्काउने खालको छ’ चितवन जिल्ला अदालतका नायब सुब्बा जयनारायण आचार्यले बताए । जिल्ला अदालतको तथ्याङ्कअनुसार सबैभन्दा बढी साउन यता बिहेको लगन भएको महिना मंसिरमै सम्बन्धविच्छेद गर्ने धेरै छन् । मंसिरमा ५४ जना जोडीले सम्बन्धविच्छेद गरेका चितवन अदालतले जनाएको छ । पति–पत्नीबीचको सम्बन्धविच्छेदको घटना तीव्र गतिमा बढिरहेको हुनाले यसले नेपाली समाजमा नकारात्मक असर परेको समाजशास्त्रीहरुको भनाइ छ । चितवन जिल्ला अदालतमा गत साल ५७५ जोडीले सम्बन्धविच्छेदको आवेदन दिएका थिए । जसमध्ये ४७१ जनाले सम्बन्धविच्छेद गरेका थिए । ‘दिनानुदिन सम्बन्धविच्छेदको घटना बढिरहेको छ, जसले नेपाली समाजमा नकारात्मक असर पारेको छ’ नासु आचार्यले भने ।

गत वर्ष चितवन जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दोस्रो श्रेणीमा आएको अदालतका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी गराए । उनले भने, ‘चितवन जिल्ला अदालतमा पर्ने धेरै मुद्दामध्ये सम्बन्धविच्छेदको मुद्दा अग्रस्थानमा परिरहेको छ ।’

किन बढ्यो सम्बन्धविच्छेद ?
वैवाहिक जीवन टुटेको मुद्दाको आंकडा हेर्दा बर्सेनि बढ्दो छ । सम्बन्धविच्छेद बढ्नुमा धेरै कारणहरुको रहको अधिवक्ताहरु बताउँछन् । उनीहरुले वैदेशिक रोजगारलाई प्रमुख कारणमध्ये एक मानेका छन् । ‘श्रीमान् वा श्रीमती वैदेशिक रोजगारमा हुन्छन् । उनीहरुको लामो समयसम्म भेट हुँदैन । त्यतिबेला उनीहरुमा निराशा, शंका, उपशंकाहरु बढी आउँछ’ अधिवक्ता उद्धव लोहनीले भने, ‘त्यस्तो अवस्थाले गर्दा सम्बन्धविच्छेद बढ्दै गएको छ । वैदेशिक रोजगारमा गएकाले अरुको गलत कुरा सुनेर पनि सम्बन्धविच्छेद गरेका छन् ।’ उनका अनुसार सूचना सञ्चार तथा प्रविधिको दुरुपयोग भएको हुनाले पनि सम्बन्धविच्छेदको घटना बढेको छ । महिलाहरु सक्षम सबल हुनु, विलासी जीवनको इच्छा गर्नु र पश्चिमी सभ्यताको प्रभाव पर्दै जानुले पनि सम्बन्धविच्छेदको घटना बढेको अधिवक्ता लोहनीको भनाइ छ ।

‘अहिलेको युवापुस्ताले विवाहलाई जन्मजन्मान्तरको सम्बन्ध मान्ने परम्परागत अवधारणालाई संस्कारको रुपमा लिएको छैन । एकखालको सम्झौताजस्तो मानेको हुँदा सम्बन्धविच्छेदको घटना बढेको हो’ अधिवक्ता लोहनीले भने, ‘नैतिक शिक्षाको कमी, संयुक्त परिवारको विच्छेद, ससाना कुरामा झगडा र महिलाहरु पनि सक्षम हुँदै जानुले पनि सम्बन्धविच्छेद बढेको हो ।’ बाह्य संसारसँगको बढ्दो सम्पर्क, पश्चिमी पद्धतिको शिक्षा र महिलाहरुको आर्थिक सक्षमताको कारणले पनि सम्बन्धविच्छेद बढाएको हो । ‘श्रीमतीहरुले म पनि श्रीमान्बिना कमाएर खान सक्छु भन्ने अह्मताले पनि सम्बन्धविच्छेद गराएको छ’ एक अधिवक्ताले भने । श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई छलेर परस्त्री वा परपुरुषसँग यौनसम्पर्क गर्नु पनि वैवाहिक सम्बन्धविच्छेदको कारण भएको ती अधिवक्ता बताउँछन् । उनका अनुसार श्रीमान् वा श्रीमती दुबैलाई यौन सन्तुष्टि नहुनु पनि सम्बन्धविच्छेदको कारण हो ।

कतिलाई समस्याबाट छुटकारा
वैवाहिक सम्बन्धविच्छेदले कतिलाई समस्याबाट छुटकारा पनि गराएको छ । वैवाहिक सम्बन्धविच्छेदले कतिलाई त राम्रो नतिजा पनि दिएको छ । कतिलाई सम्बन्धविच्छेदले सहज निकास दिएर व्यक्ति र परिवारलाई दुर्घटनाबाट पनि बचाएको छ ।

‘हाम्रो सम्बन्धविच्छेदले दुबैलाई राम्रो गरेको महसुस भएको छ । दुबैले फरक बाटो राजेर राम्रो भयो । नत्र हाम्रो परिवारमा सधैँ झगडा र असन्तुष्टिमात्र हुन्थ्यो’ सम्बन्धविच्छेद गरेका एक जोडीले भने, ‘सम्बन्धविच्छेद भएको दुई वर्ष भए पनि हामी बोल्छौँ, तर सँगै बस्ने, खाने र सुत्ने गर्दैनौँ । हामी दुबैलाई राम्रो गरेजस्तो लागेको छ सम्बन्धविच्छेदले ।’

चितवन जिल्ला अदालतका सूचना अधिकृत कृष्णप्रसाद बरालले कसैकसैको जीवन सम्बन्धविच्छेदले राम्रो गराए पनि समग्रमा यसले समाजमा नकारात्मक असर पारेको बताउँछन् । उनी भन्छन्, ‘सम्बन्धविच्छेदले छोराछोरीको भविष्य अन्यौलमा पार्छ, पारिवारिक बेमेल ल्याउँछ ।’ न्यूज अभियानबाट