दोलखाको कालिञ्चोक, गौरीशंकर, शैलुङ, च्योर्दुङलगायत उच्च हिमाली क्षेत्रमा हिमपात

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- एक्कासि मौसम बदली भएसँगै दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । दोलखाको कालिञ्चोक, गौरीशंकर, शैलुङ, च्योर्दुङलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण उच्च हिमाली र पहाडी क्षेत्रहरू सेताम्य देखिएका छन् । हिमपातले उच्च क्षेत्रका सर्वसाधारण दैनिक कामकाजमा निस्कन सकेका छैनन् भने टहरामा बस्दै आएका भूकम्पपीडितको जनजीवन कष्टकर बन्न पुगेको छ । चिसो बढेपछि टहरामा बसेका भूकम्पपीडित, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका हुन् ।

मौसममा आएको परिवर्तनसँगै एक्कासि चिसो बढेको छ । पश्चिमी वायुका कारण मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै केही दिन मौसम बदली भइरहने र मौसम बदली भएर सामान्य वर्षा भए पनि ठूलो पानी भने नपर्ने महाशाखाले जनाएको छ ।

तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोकमा शनिबार दिउँसो र बेलुकी गरी दुइपटक हिमपात भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकहरू कालिञ्चोकको कुरीमा हिउँसँग दिनभर रमाएका छन् । शनिबार विशेष भिडभाड हुने कालिञ्चोक क्षेत्रमा हिमपात भएपछि कुरी क्षेत्र पर्यटकले भरिभराउ भएको होटेल व्यवसायी सोनाम शेर्पाले जानकारी दिए ।

यस्तै, एक हजार नौ सय पाँच मिटरको उचाइमा रहेको पर्यटकीय नगरी जिरीको चेर्दुङ क्षेत्रमा पनि भारी हिमपात भएको छ । जिरी बजारभन्दा माथिल्लो क्षेत्र स्थित चेर्दुङ चिज फ्याक्ट्रीसम्म बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन् आजको भनी नयाँ पत्रीकाले समाचार छपेको छ ।