देशैभर चिसो बढ्यो, हल्का वर्षा हुने सम्भावना

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- शनिवारदेखि देशभरको मौसममा बदली आएको छ । पूर्वमा पश्चिम बंगाल र पश्चिममा उत्तराखण्ड न्यूनचापीय क्षेत्र विकास भएसँगै नेपालको मौसममा बदली भएको वैज्ञानिकहरूले बताएका छन् ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले मौसममा आएको बदलीसँगै शनिवारदेखि नेपाली आकाशमा बादल देखिएको बताए । उनका अनुसार अहिले नेपालको हावामा थोरै थोरै पानीका छिटाहरू समेत रहेका छन् ।

शनिवार विशेषगरी काठमाडौंसहित देशका पूर्वी क्षेत्रमा बदलीसहित हल्का वर्षा भएको थियो । शनिवार ०.१ एमएम वर्ष भएको उनले बताए । शनिवारको जस्तै मौसम आइतवार पनि रहनेछ । सोमवारको मौसम पनि लगभग यस्तै रहने उनले बताए । मंगलवारबाट भने मौसममा पूरा सुधार हुने अपेक्षा गरिएको छ ।

बादल लागिरहेकै अवस्थामा पनि हल्का घाम लाग्ने सम्भावना छ । यहीबीचमा हल्का वर्षा पनि हुने सम्भावना रहेको छ । श्रेष्ठले अहिलेको वायुले धेरै पानी पार्ने सम्भावना नरहेको भएपनि हल्का पानी चाहिँ पर्न सक्ने बताए ।  आज देशका पहाडी क्षेत्र र पूर्वी तराईका क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको उनले बताए । मौसममा परिवर्तन भएसँगै अत्यधिक चिसो बढेको हो ।