नेपाल टेलिकमले फोर जी सेवा आजवाट सुरु गर्ने

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- नेपाल टेलिकमले फोर जी सेवा आजवाट सुरु गर्ने भएको छ। राजधानीको सोल्टी होटलमा आयोजित विशेष समारोहकाबीच संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीले फोर जी सेवा संचालनको सुभारभ्भ गर्ने नेपाल टेलिकमले जनाएको छ।फोर जी सेवा सुरु भएपछि टेलिकमका ग्राहकहरुले ३२ दशमलव ४ एबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने टेलिकमले जानकारी दिएको छ । पछि टेलिकमले ८० एमबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने गरी काम भइरहेको जनाएको छ।

नेपाल टेलिकमका सबै सिमकार्डलाई फोर जी सेवाको लागि भेरिफाइड गर्न असम्भव भएकोले निश्चित अवधि अगाडि बाँडिएका सिमकार्डलाईमात्र त्यस्तो सेवाको अनुमति हुने एक प्राविधिकले जानकारी दिए। ‘फोरजी सेवा चलाउनको लागि प्रयोगकर्तासँग ‘ कम्प्याटिबल ’ सिम हुनुपर्छ’ ति प्राविधिकले भने, ‘टेलिकमका सबै सिम त्यस्ता छैनन्।’ उनका अनुसार टेलिकमका चार वर्षभन्दा अगाडि वितरण भएको सिमकार्डमा फोरजी सेवा नचल्ने तर त्यही नम्बरको अपग्रेड सिम टेलिकमले उपलब्ध गराउने छ।
तर टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले भने यसबारेमा के कस्तो हुने भन्ने बारेमा आइतबारमात्र घोषणा गर्ने निर्णय भएको  जानकरी  दिए। ‘कुन सिममा चल्ने,कस्ता बिकल्प दिने भनेर हामीले सबै कुरा एकैपटक सार्वजकिन गर्नेछौं।’उनले  सेतोपाटीसँग भने,‘यस बारेको विस्तृत विवरणआइतबारमात्र सार्वजनिक गर्छौ।’ नेपाल टेलिकमले हालसम्म बितरण गरेका बढीमा ५ लाख सिममामात्र फोरजी चल्न सक्ने बताइएको छ।
फोरजी चौथौ पुस्ताको मोबाइल संचार प्रविधि हो। नेपालमा हाल रहेको मोबाइल प्रविधि ‘टुजी’ तथा ‘थ्रीजी’ को परिस्कृत तथा आधुनिक स्वरुप फोरजी हो। यो प्रविधि थ्रिजी प्रणालीभन्दा १० गुणा छिटो चल्दछ।