शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, संगीत र नृत्यलाई रोक लगायो

By कृष्ण प्रसाद पौड्याल     

शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, संगीत र नृत्यलाई रोक लगाएको छ। विद्यालयमा सञ्चालन हुने कुनै पनि कार्यक्रममा नेपाली लोक संस्कृति, राष्ट्रियता झल्कने गीत–संगीत र नृत्य मात्र समावेश गर्न पाइनेछ। सांस्कृतिक कार्यक्रम, समारोह, भेलाजस्ता कार्यक्रममा विदेशी गीत–संगीत र नृत्यलाई रोक लगाइएको शिक्षा विभाग, सह–क्रियाकलाप तथा समसामयिक शिक्षा शाखाले जनाएको छ।

शाखाले उक्त व्यवस्था कार्यान्वयन गर्न हालैमात्र देशभरका जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको छ । विदेशी संस्कृतिको अनुचित प्रभावलाई रोक्न यस्तो निर्णय गरिएको शाखाका उपनिर्देशक प्रमोदकुमार शर्माले बताए । “भाषा, साहित्य, कलामा हामी धनी छौँ”, उपनिर्देशक शर्माले भने “हाम्रै संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ, विद्यार्थीलाई त्यसैतर्फ प्रेरित गर्नुपर्छ ।”

शाखाले गरेको परिपत्रमा विद्यालयमा विदेशी संगीतलाई पूर्ण रुपमा रोक लगाउन भनिएको छ । शिक्षाको राष्ट्रिय उद्देश्यमा पनि नेपाली कला, सौन्दर्य, आदर्श र वैशिष्ट्यहरुको संरक्षण, संवद्र्धन र विस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्न मद्दत गर्ने उल्लेख छ । विद्यालयमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलापमा समेत यो विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ ।

“विदेशी गीत–संगीत समावेश गर्न नपाइनेदेखि अन्य अतिरिक्त क्रियाकलाप सम्बन्धमा सबै विद्यालयमा निर्देशन गइसकेको छ”, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले भने – “कार्यान्वयन भए, नभएको पनि अनुगमन गर्छौं ।” उनले अटेर गर्ने विद्यालयलाई कारबाही गरिने उल्लेख गरे।विद्यार्थीको सिर्जनात्मक प्रतिभाको विकासका लागि अतिरिक्त क्रियाकलापमा चित्रकला, हस्तकला, वाद्यवादन, नृत्य, नाटक, साहित्यिक गतिविधि, वक्तृत्वकला, हाजिरीजवाफ, हिज्जे, खेलकुदलगायतका प्रतियोगिता सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ । सेतोपाटी अनलाईनबाट