नेपाल प्रहरीमा रिक्त रहेका डिआइजी र एसपीमा क्रमशः तीन एसएसपी र १३ डिएसपीको बढुवा

By कृष्ण प्रसाद पौड्याल     

नेपाल प्रहरीमा रिक्त रहेका डिआइजी र एसपीमा क्रमशः तीन एसएसपी र १३ डिएसपीको बढुवा गरिएको छ । गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो ।

उनीहरूलाई बुधबार नै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दज्र्यानी चिह्न लगाइदिएका छन् । गणेश केसी, केदारमानसिंह भण्डारी र रमेशकुमार भट्टराई डिआइजीमा बढुवा भएका हुन् । एसएसपी लब विष्टले सिफारिसउपर उजुरी गरे पनि त्यसको सुनुवाइ नगरी बढुवाको निर्णय भएको हो ।

त्यस्तै राजेन्द्र थापा क्षेत्री, रामकुमार थापा, राजकुमार लम्साल, अनुराग द्विवेदी, चन्द्रकुबेर खापुङ, विद्यानन्द माझी, सानुकाजी लामिछाने, विपिनकुमार कर्माचार्य, मधुसूदन लुइटेल, दिल्लीराज पन्त, मोहनप्रसाद पोखरेल, राजेन्द्रसिंह खड्का, टीकाबहादुर केसी र योगबहादुर पालको पनि एसपीमा बढुवा भएको छ । प्राविधिकतर्फका नौ एसपी तथा एक इन्सपेक्टरले पनि बुधबार दज्र्यानी चिह्न लगाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित दज्र्यानी चिह्न लगाउने कार्यक्रममा बोल्दै आइजिपी अर्यालले पदोन्नति प्रणालीले संगठनको भविष्यमा दूरगामी प्रभाव पार्ने बताए । पदोन्नतिका सन्दर्भमा अझै गम्भीर समीक्षा, समयानुकूल सुधार र पुनर्लेखन गरी आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ,नयाँ पत्रिकामा खबर छ ।
बढुवामा केही राम्रा मान्छे पनि छुटेको स्विकार्दै उनले बढुवा प्रणालीमा थप सुधारको आवश्यकता औँल्याए । समयमै क्षमता विकासका लागि चिन्तन गर्नुपर्ने, उचित कार्य सम्पादन गर्नुपर्ने तथा संगठनका हरेक मापदण्ड पूरा गरी कार्यसम्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

बढुवासम्बन्धी प्रस्ट मापदण्ड नहुँदा नेपाल प्रहरीका उच्च तहका बढुवा सधैँ विवादमा पर्ने गरेको छ ।