प्रस्तावित “चौथो राष्ट्रिय पोशाक दिवस” जनवरी १ मा मनाइँदै

By कृष्ण प्रसाद पौड्याल     

केकेछ डटकम -काठमाडौं – पौष १२,

आगामी पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षका दिन राष्ट्रिय पोशाक दिवस भव्य रुपमा मनाइने भएको छ । पछिल्लो समयमा नेपालीको पहिचान हराउदै गएको भन्दै विगत ३ वर्षदेखि श्रद्धावान् नेपाल लगायतका संघसंस्थाको आयोजनामा यस दिन राष्ट्रिय पोशाक दिवस मनाइँदै आएको छ । ‘विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समयमा यसलाई नेपाल सरकारले नेपाली पोशाकको सूचिबाट हटाइएको छ । सामुदायिक पहिचानको कुरा उठिरहदा राष्ट्रिय पहिचान नै संकटमा परेको भन्दै सबै जातीय र क्षेत्रीय पहिचानको प्रतिनिधित्व गर्ने राष्ट्रिय पोशाक स्थापित राखिराख्नको लागि यो कार्यक्रम गर्दै आएको कार्यक्रमका अभियन्ता राजानन्द माण्डव्यले केकेछ डटकम (kkchha.dom) लाई जानकारी दिए । कार्यक्रमको तयारी भइरहेको बताउँदै उनले राष्ट्रिय पोशाक दिवस नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने र उक्त कार्यक्रममा राष्ट्रिय पोशाक सहित उपस्थिति हुनको लागि सबैलाई आग्रह समेत गरे ।


उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रकवि माधब प्रसाद घिमिरे रहने छन् । सँगै विशिष्ट अतिथिमा , संस्कृतविद् सत्यमोहन जोशी, रुक्माङगत कटुवाल, उमेश मैनाली, शिशिर योगी, रामहरी न्यौपाने  लगायतका विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहनेछ भने कार्यक्रममा विविध सांस्कृतिक झाँकी, नृत्य, पञ्चेबाजा, धिमे सहितको प्रस्तुती रहने राष्ट्रिय पोशाक दिवस मुल समारोह समितीले जनाएको छ ।