ट्राफिकले नियन्त्रणमा लिएको चालक अनुमतिपत्र,तुरुन्तै लिए बग्गीखाना ढिला भए विभाग

By प्रकाश धिताल     

केकेछ डटकम -काठमाडौं -पौष ०८,

अहिले सम्म महानगरीय ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएका चालक अनुमतिपत्र त्यहीबाट जरीवाना तिरेर लिने गरिन्थ्यो । अब भने यातायात व्यवस्था विभागले एक महिनाअघि नियन्त्रणमा लिएका सबै चालक अनुमतिपत्र विभागमै झिकाउन थालेको छ । यसले तत्काल खोसिएका लाइसेन्स छुटाउन मात्र बग्गीखाना जानु पर्ने र एक महिनाबढी ढिला भए यातायात विभाग जानु पर्ने भएको छ । गत आर्थिक वर्ष ०७१÷७२ भित्र नियन्त्रणमा लिएका सबै अनुमतिपत्र विभाग पठाइसकेको महाशाखाले जनाएको छ । चालु आव ०७२÷७३ मा नियन्त्रणमा लिएका गत भदौसम्मका चालक अनुमतिपत्र भने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा पठाइएको छ ।

राजधानीमा दैनिक २ हजारदेखि २ हजार ४ सयसम्म चालक अनुमतिपत्र ट्राफिकले नियन्त्रणमा लिने गरेको छ । १ महिनामा ६० हजारभन्दा बढी चालक अनुमतिपत्र नियन्त्रणमा लिने गरेको ट्राफिक जनाएको छ । मादक पदार्थ सेवन (मापसे) गर्दा १ हजार र अन्य सडक नियम पालना नगर्दा ५ सय रुपैयाँ जरीवाना गर्ने ऐन बनिसकेको छ । चालक अनुमतिपत्र विभागमा पुगेपछि विभागले मापसेमा २ हजार र ५ सय रुपैयाँ जरीवाना हुने कसुरमा १ हजार रुपैयाँ जरीवाना असुल गर्ने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।
गत आर्थिक वर्षसम्म नियन्त्रणमा लिएका चालक अनुमतिपत्र विभागको कार्यालय मिनभवनमा र चालु आर्थिक वर्षमा नियन्त्रणमा लिएका अनुमति पत्र यातायात व्यवस्था कार्यालय एकान्तकुनामा पठाएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुधन सिलवालले सौर्य दैनिकलाई बताए ।

शुक्रबार १८ महिनाअघि ट्राफिक प्रहरीले लिएको आफ्नो चालक अनुमतिपत्र लिन महाशाखाको कार्यालय बग्गीखाना पुगेका काठमाडौंको नयाँबानेश्वरका दिगम्बर भण्डारी आफ्नो चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय पठाएको जानकारी पाएपछि चकित नै भए । उनी चालक अनुमतिपत्र लिन एकान्तकुनाको कार्यालय पुगे । त्यहाँ पनि नभएको र विभागको कार्यालय मिनभवनमा रहेको जानकारी पाएपछि उनी विभागको कार्यालय मिनभवन पुगे । शुक्रबार भएकोले आइतबार ११ बजे लाइसन्स लिन आउनु भन्दै त्यहाँका कर्मचारीले बताएको र आइतबार विभाग गएर जरीवाना तिर्दै अनुमतिपत्र लिने भण्डारीले सौर्य दैनिकका संवाददातासँग बताए । राजधानीमा झन्डै १० लाख सवारी साधन गुड्छन् । सडक भने पुग नपुग २ हजार किलोमिटर मात्र छ । सवारीको चाप बढेपछि सडक जाम र दुर्घटना बढेको भन्दै विभाग र ट्राफिक प्रहरी जरिवाना वृद्धि गर्दै थप कारवाहीतर्फ अघि बढेका छन् ।

विगतमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका चालक अनुमतिपत्र र ब्लु बुक महाशाखा पुगेर जुनसुकै समयमा गए पनि पाइने हुँदा सहज भइरहेकोमा यातायात व्यवस्था विभाग पठाएर थप दुःख दिएको धादिङबाट राजधानी आएर ट्याक्सी चलाइरहेका प्रदीप ढुंगानाले गुनासो गरे ।

‘चालकहरूलाई थप जिम्मेवार बनाउन कारवाहीमा कडाइ तथा जरीवाना वृद्धि गरिएको हो, जो इमानदार चालक छ, उसलाई कारवाहीले असर गर्दैन, जो ट्राफिक नियम पालना गर्दैन उसले कारवाही भोग्छ र झन्झट पनि बेहोर्छ ।’ ट्राफिक प्रहरीका एक निरीक्षकले भने, ‘अब पनि कडाइ नगरे राजधानीमा सवारी साधन चलाउन नै मुस्किल भएर कडाइ थालिएको हो ।’ यातायात व्यवस्था कार्यालयका अनुसार मिटरवाला ट्याक्सीले मिटर बिगार्ने, बढी भाडा लिने, भनेको स्थानमा जान नमान्ने, मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी साधन चलाउनेजस्ता कसुर गर्ने चालकलाई भने ५ हजार रुपैयाँसम्म जरीवानाको व्यवस्था छ । र, त्यसै अनुसार कारवाही भइरहेको विभागले जनाएको छ ।