नागढुङ्गा सुरुङमार्ग निर्माण हुने अब निश्चित

By प्रकाश धिताल     

केकेछ डटकम -काठमाडौं -पौष ०८,

बहुचर्चित नागढुङ्गा सुरुङमार्ग निर्माण हुने अब निश्चित भएको छ । आयोजना कार्यान्वयनका लागि नेपाललाई १५ अर्ब ४० करोड ५० लाख रुपियाँ ऋण सहायता उपलब्ध गराउन जापान सरकार सहमत भएपछि सो परियोजना निर्माण हुने निश्चित भएको आजको गोरखापत्रले खबर छापेको छ |
जापान ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि उक्त ऋण उपलब्ध गराउन सहमत भएको हो । ४० वर्षभित्र तिरिसक्नुपर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिनेछ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार अर्थ सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आयोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भयो ।
अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा भएको सो ऋणपत्रमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल र जापानी सहयोग नियोग (जाइका)का नेपाल प्रमुख जुन साकुमाले हस्ताक्षर गरे  । अर्थ सचिव डा. सुवेदीले मुलुककै पहिलो सुरुङमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएको बताउँदैे सुरुङमार्ग निर्माणमा सहयोग गरेकोमा जापान सरकारप्रति आभार व्यक्त गरे  ।
त्यसैगरी नेपालका लागि जापानी राजदूत ओगावाले यस परियोजना कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरे  । सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढाउन चालू आर्थिक वर्षको बजेटमा एक अर्ब ६७ करोड रुपियाँ विनियोजन गरिएको छ ।