पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको साथ पाए पुनः देशको सेवा गर्ने

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – पौष ०७

पूर्वराजा ज्ञानेन्द्र शाहले नेताले देशलाई कमजोर बनाएको भन्दै जनताले साथ दिए पुनः देशको सेवा गर्ने भन्दै घुमारो भाषामा सत्ता हात लिने घोषणा गरेका छन् । राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको बताएका छन् । बुधबार विज्ञप्ति सार्वजनिक गर्दै ज्ञानेन्द्रले पछिल्ला राजनीतिक गतिविधिले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताएका छन् । उनले नेपाली जनताको एकता तोड्ने षड्यन्त्र भइरहेको समेत बताएका छन् । हिमाल, पहाड र तराईको एकता भाड्नु नै जनताको एकता तोड्नु समान भएको ज्ञानेन्द्रको बुझाई छ । ‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ,’ उनले भनेका छन्, ‘आज नेपाली बीचको समाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको ऐक्यभावलाई तोड्न भगीरत प्रयत्न भइरहेको छ ।’

माओवादीले उच्चारण गर्ने क्रान्तिकारी, परिर्वतनकारी, वलिदानी जस्ता शब्दको दुरुपयोग भएको समेत उनले आरोप लगाएका छन् । ‘क्रान्तिकारी, परिवर्तनकारी र बलिदानी जस्ता शब्दले राष्ट्रलाई कमजोर बनाउने काम भएको छ, यो अशोभनीय मात्र नभई असैहृय पनि बनिरहेको छ,’ उनले भनेका छन् ।

उनले विज्ञप्तिको अन्तिममा भनेका छन्, ‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरी एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न प्रमुख र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु परेको छ । हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’ त्यस्तै ज्ञानेन्द्रको वक्तव्यमा आफूमाथि निषेधको राजनीति नगर्न समेत घुमाउरो पारामा चुनौती दिएका छन् । ‘निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु बलियो नहुने र इतिहासलाई कलंकित गर्दै निहित स्वार्थ पुरा गर्न गरिएको काम प्रशंशित गर्नु हुँदैन,’ वक्तव्यमा भनेका छन्, ‘माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति दिन सक्दैन ।’

नेपालको स्थायी सत्ता राष्ट्र र राष्ट्रवासी भएको भन्दै उनले आफ्नो वक्तव्यमा दुर्भाग्यवस आजको सन्दर्भमा वाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको छ ।’

पूर्वराजा ज्ञानेन्द्रले बुधबार सार्वजनिक गरेको विज्ञप्ति