पोखरामा पूर्वप्रधानमन्त्री डा. भट्टराईमाथि जुत्ता प्रहार

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर २३,

imagesनयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा विहीबार बिहान गरेको कार्यक्रममा भट्टराईबिरुद्ध कालो झण्डा देखाउदै जुत्ता प्रहार गरिएको हो । क्याम्पस हातामा गरेको उक्त स्वागत कार्यक्रममा बाबुराम प्रमुख अतिथि थिए ।

डा.भट्टराईलाई कैलाली नारायणपुरका २९ वषर्ीय सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराई पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी हुन् ।

उनलाई ताकेर भट्टराईले जुत्ता प्रहार गरे पनि लाग्न पाएन । त्यसपछि उनले कालो झन्डा देखाउँदै बाबुरामविरुद्ध नाराबाजी गरेको प्रत्यक्षदर्शी विद्यार्थीहरूले बताए । घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेको छ ।

जुत्ता प्रहारले केहीबेर बिथोलिए पनि स्वागत कार्यक्रम पुन: सञ्चालन भएको थियो । घटना भएको र भट्टराईलाई नियन्त्रणमा लिइएको इप्रका बगरका प्रहरी निरीक्षक किशोर लम्सालले पुष्टि गरे ।