२३ जिल्ला शीतलहरको सूचीमा

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर ६,

सरकारले मुलुकका २३ जिल्लालाई शीतलहर प्रभावित जिल्ला घोषणा गरेको छ । गृह मन्त्रालय तयार गरेको शीतलहरबाट मानिसमा पर्ने जोखिम न्यूनीकरणका लागि अपनाउने सावधानी प्रतिवेदनअनुसार मुलुकका २३ जिल्ला शीतलहर प्रभावित जिल्लाको सूचीमा परेका हुन । मन्त्रालयले तयार गरेको सो सूचीअनुसार झापा,मोरङ, सुनसरी बारा, पर्सा, रौतहट, सिराह, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, उदयपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाके ,बर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत, मकवानपुर रहेका छन् । मंसिर लागेपछि चिसो बढेको र शीतलहरबाट जनजीवन प्रभावित हुने भएकाले सावधानी अपनाउन नागरिकमा अपिल गर्दै मन्त्रालयले त्यस क्षेत्रका सरकारी निकायलाई सतर्क रहन निर्देशनसमेत दिएको छ ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला दैवी प्रकोप समिति, नेपाल प्रहरी तथा सरोकारवाला निकायलाई मन्त्रालयले शीतलहर प्रभावित क्षेत्रमा राहत तथा उद्धारको प्रबन्ध मिलाउन निर्देशन दिइसकेको छ । साथै, त्यस क्षेत्रका अस्पताल, स्वास्थ्य केन्द्रमा आवश्यक चिकित्सक तथा औषधि उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ । शीतलहरबाट मानिसहरूको असावधानीका कारण स्वास प्रश्वास रुघाखोकी, निमोनिया जस्ता रोगले सताउने भएकाले स्वास्थ्य मन्त्रालयको ध्यान बढी नै आकर्षित गरिएको मन्त्रालयले जनाएको छ ।

‘प्रभावित हुने २३ वटै जिल्ला प्रशासन कार्यालयलाई समयमै परिपत्र गरिएको छ, प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्बन्धित सरोकार निकायका प्रमुखहरूले काम थाल्नेछन्,’ मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने । उनका अनुसार यसपल्ट मन्त्रालयले चिसो बढ्न लाग्दै सम्बन्धि निकायलाई पत्रचार गरिसकेकाले प्रभावित जिल्लामा समयमै उपचार तथा राहतको प्रवन्ध हुनेछ । उनका अनुसार मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत १० बुँदे निर्देशन दिएको छ ।शीतलहर प्रभावित जिल्लाहरूमा राष्ट्रिय तथा स्थानीय समाचार संस्थाहरूबाट जनचेतनामूलक सामग्री प्रसारण गर्न पनि निर्देशन दिएको छ । शीतलहरबाट हरेक वर्ष दमका रोगीहरू प्रभावित बन्ने गरेका छन् । तराईमा शीतलहरबाट स्कुल बन्द भएपछि पठनपाठन पनि प्रभावित हुने गरेको छ ।

पुस, माघ महिनामा तराईमा शीतलहर चल्ने र बाक्लो हुस्सु लाग्ने कारणले न्यानो वस्त्र अभाव भएका मानिसहरूको ज्यान जाने गरेको छ । जाडोअगावै प्रभावित हुन सक्ने बिपन्न परिवारहरूलाई न्यानो लुगा, दाउरालगायतका सामग्रीहरू उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो ।मन्त्रालयले २३ जिल्लामा सक्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूले के कसरी प्रभावितहरूलाई सहयोग गर्न सकिन्छ भन्नेबारेमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिन पनि आग्रह गरेको छ । तराईमा शीतलहर चलेपछि विपन्न नागरिकलाई सहयोग गर्ने नाममा विभन्न गैरसकारी संस्थाले जथाभावी राहत वितरण गरेको भन्दै प्रचारवाजी गर्ने भएकाले उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत सहयोग गर्न आग्रह गरेको हो ।

दुई वर्षअघि सर्वोच्च अदालतले जाडोको समयमा तराईमा चल्ने शीतलहरका कारण ज्यान गुमाउने नागरिकहरूको रक्षा गर्न तत्काल उचित व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । न्यायाधीश गिरिशचन्द्रलाल र चोलेन्द्रशमशसेर राणाको इजलासले नागरिको बाँच्न पाउने पाउने अधिकारको रक्षा गर्ने जिम्मेवारी सरकारको भएकाले त्यसबाट वचाउन उचित कदम समयमै चाल्नेप्रति ध्यानाकर्षण समेत गराएको थियो । त्यसपछि सरकारले समयमै सरोकारवाला निकायलाई निर्देशन दिने गरेको छ । medianp.com  बाट