ड्राइभर श्रीमानकी ‘खलासी’ श्रीमती ‘श्रीमान-श्रीमती एक्सप्रेस’

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर १,

driver-husband-wife-650x441ल है आयो भक्तपुर, दूधपाटी, कमलविनायक… छिट्टो छिट्टो आउनुस्… ल है जानैलाग्यो गाडी भक्तपुर एक्सप्रेस ,भक्तपुर एक्सप्रेस….। लगनखेल बसपार्कमा एक महिला चिच्याउँदै यात्रु बोलाउँदै थिइन् । जोडजोडले सिट्ठी फुक्दै उनी लगनखेल बसपार्कमा तेर्सिरहेका अन्य गाडीलाई साइड लगाउन आग्रह गर्दै थिइन् । महिलाले सिट्ठी फुकेको देखेर सर्वसाधारण यात्रुहरू रमाइलो मान्दै हेर्दै थिए । उनले बायाँ हातमा चानचुन बीस, दश र पाँचका नोटहरू समातेकी थिइन् । उनी हुन् सुशीला तामाङ।

ड्राइभर श्रीमान् बाबा तामाङकी श्रीमती हुन् उनी । पैसा उठाउने र मान्छे बोलाउने काम सुशीलाको हो । श्रीमानश्रीमती दुवै मिलेर भक्तपुर ७ नम्बर रुटमा चल्ने बा ४ ख १५३७ नम्बरको मिनीबस चलाउँछन् । श्रीमतीले सहचालकको काम गरेकी छन् । भक्तपुर एक्सप्रेसलाई खासमा मान्छेहरू ‘दाइभाउजु एक्सप्रेस’, ‘बुढाबुढी एक्सप्रेस’ अनि ‘श्रीमानश्रीमती एक्सप्रेस’ले चिन्छन् । यो गाडीको रुट भक्तपुर कमलविनायकबाट लगनखेल, बागबजार र नयाँबसपार्कसम्म चल्ने गर्दछ । डेढ वर्षअघि साहुको ऋण गरेर साउदी गएका श्रीमान् म्यानपावरको चंगुलमा फँसेर गएको ४ महिनामै रित्तो हात स्वदेश फर्केका थिए ।

श्रीमान् रित्तै हात घर फर्केपछि सुशीलाको परिवार चुर्लम्म ऋणमा डुबेको थियो । साहुको ऋण तिर्न सुशीलाको परिवारलाई काममा दिनरात खटिनुपर्ने बाध्यता आइपरेको थियो ।परिवार आर्थिक संकटमा डुबेपछि घरमा बसिरहेकी श्रीमती सुशीला तामाङलाई उनकी श्रीमानले आफूले चलाउने गाडीमा पैसा उठाउने काम गरिदिन आग्रह गरेका थिए । गाडीमा खलासी भएर कुनै महिलाले काम नगरेको समाजमा सुशीलालाई शुरूमा श्रीमान्को यो आग्रह निकै अनौठो लाग्यो । गाडीमा बस्ने अरू खलासीले यात्रुको पैसा लुकाउने र धेरै पैसा हिनामिना गरेको बाबाले सुनाएपछि सुशीलाले सँगै मिलेर श्रीमानलाई सघाउने निर्णय गरिन् ।

शुरूशुरूमा गाडीमा मान्छे बोलाउन लाज लाग्नेगरेको र श्रीमानले सिकाएपछि मात्र अहिले सुशीला फटाफट सबै ठाउँको नाम कण्ठ पार्दै यात्रु डाक्न सिपालु भइसकेकी छन् । गाडी रोक्न र गाडी हिँडाउनका लागि इशारा गर्ने सिट्ठी फुक्न उनी खप्पिस भएकी छन् । उनले सिट्ठी फुक्दा यात्रुहरूले रमाइलो मान्छन् ।
बिहान सबेर ५ बजेदेखि गाडी चलाउने उनीहरू बेलुकी ७ बजे काम सकेर घर फर्किन्छन् । ‘काम ठूलो सानो हुँदैन, घरखर्च चलाउन गाह्रो भएपछि जुनै काम गर्न पनि आँट आउँदो रहेछ,’ गाडीमा ‘खलासी’ बनेका सुशीलाले बताइन् ।
सुशीला अहिले गाडीमा पैसा उठाउने, गाडीभित्र यात्रुलाई मिले बसाउन र यात्रुलाई बोलाउन खप्पिस भइसकेकी छन् । गाडीभित्र पैसा उठाउँदा कार्ड हुनेले कार्ड र पैसा सँगै दिनुस् भन्दा कोही यात्रुले निहुँ खोज्ने पनि उनले बताइन् ।

कोही यात्रुले सुशीलालाई अनपढ जस्तो देखेर विद्यार्थी परिचयपत्र देखाउँदै कार्ड हेर्न आउँछ भनेर हेपेर सोध्ने गरेको र ‘आउँछ, डेट देखाइँदिऊँ भनी जवाफ दिँदा चुप लाग्ने गरेको सुशीलाले सुनाइन् । खासमा सुशीलालाई उनकी ठूली छोरीले परिचयपत्रको डेट हेर्न सिकाएकी रहिछन् । सुशीलाकी ठूली छोरी अहिले ६ कक्षामा पढ्छिन् । श्रीमान् श्रीमती दुवैले गाउँमा दुई कक्षाभन्दा माथि पढ्न पाएका छैनन् । घरमा दुई छोरा र एक छोरी छन् । आफूले पढ्न नपाएपनि छोराछोरीलाई जसरी पनि कम्तीमा एसएलसी पास गराउने धोको छ उनीहरूको ।
कोही यात्रु साह्रै फटाहा हुने गरेको भन्दै ‘के गर्ने चलाख भइएन भने त भाँडा नै नदिइ भाग्ने गर्छन्,’ सुशीलाले सुनाइन् । एकचोटि गाडी लगनखेलबाट भक्तपुर गइराखेको थियो । त्योबेला गाडीभित्र दुईजना पाकेटमारले यात्रुको पैसा लुट्न खोज्दा पाकेटमारसँग भिडेको कथा सुनाइन् सुशीलाले । पाकेटमारसँग झगडा हुँदा आफ्नो लुगा च्यातेको र जिउमा घाउ समेत भएको तीतो स्मरण सुनाइन् । पछि लोकन्थलीमा पुगेर पाकेटमारलाई प्रहरीको जिम्मा लगाएको पनि धक फुकाउँदै सुनाइन् सुशीलाले ।

कोहीले महिला खलासी भएको गाडीमा सुरक्षित महसूस गर्छन् भने कोहीले आफू सोझी देखेर ठग्न खोज्ने पनि सुशीलाले बताइन् । उनले भनिन्, ‘गाडीमा कोही वृद्ध, अपांग आयो भने उनीहरूलाई सीटमा बसाउँछु र ओराल्दा पनि हात समाएर बिस्तारै ओराल्ने गर्छु । यसो गर्दा यात्रु खुशी हुन्छन् ।’
आफ्नो श्रीमानको काममा सँगसँगै सघाउन पाउँदा सुशीला पनि दंग छिन् । श्रीमान् श्रीमतीको समान योगदानले घरपरिवार चलाउन पाएकोमा उनीहरू खुशी छन् । उनीहरूको लक्ष्य अब आफ्नै पैसाले गाडी किनेर चलाउने हाे ।
‘श्रीमान श्रीमती एक्सप्रेस’ चढ्न पाउँदा यात्रुहरू पनि खुशी देखिन्छन् । ‘मेरो काम देखेर कति त हाँस्छन्, कतिले राम्रो काम गर्नुभएछ भनेर प्रेरणा पनि दिन्छन्’, सुशीलाले लोकान्तरसँग भनिन्, ‘कुनै पनि काम सानो ठूलो हुँदैन, महिलाहरूले गर्न नसक्ने केही छैन । म यही भन्न चाहन्छु, परिश्रम गर्ने बेलामा घरमा हाई काडेर नबसौं ।’ everday khabar