नारायणगोपाल गुरुवाचार्य

By प्रकाश धिताल     

नारायणगोपाल गुरुवाचार्य :

नारायणगोपाल (वि सं १९९६ असोज १८ – २०४७ मङ्सीर १९)(इ.सं.१९३९ अक्टोबर ४ – इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम नारायणगोपाल गुरुवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्। नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाई पेशाको रूपमा अङ्गाले। उनले करीव १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन्। नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमाकाठमाडौंको किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे। भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाडे। डिस्क र टेपमा गरी जम्मा १ सय ३६ वटा गीतहरू रेकर्ड गराए।

गायन यात्राको सुरुवात

नारायणगोपालले पहिलो पटक त्रि-चन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए। काठमाडौं किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए , नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरे तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे।प्रेमध्वोज प्रधान र मनिक रत्नले भन्छन् उनले हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउथे रे। माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए। गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो। उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे। प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छ ओटा गीत तयार भए। ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए। उनले त्यस संकलनमा चारओटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल –बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो ) गीत गाए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भयो। त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे। राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए। पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई ज¨लभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो। उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आङ्खनो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो। यससमय नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोता पछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो , बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमाललाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए।

असफलता

एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लश्कर पनि थिए। उनी पहिलो पटक स्वरपरीक्षमा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए। चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए। चलचित्र कासेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए। उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए। यसको दाग उनलाई जीवनभर लागिरह्यो। चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए। फुटबल खेलका पारखी थिए। चेसका खेलाडी थिए। उनी भान्सामा कुशल भान्से थिए। र, शौखिन फोटोग्राफर थिए। उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे। उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या छोडेर भारतको दार्जीलिङ, डुवर्स,साम्ची बाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजना पूरा खटे। उनले आफ्ै सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे।

यी सबै इविबृत्त बाहेक नारायणगोपालको स्वरलाई हाम्रो जनसमाजले भुल्न नसक्ने एउटा पंक्ति छ, नारायणगोपालको , उनी भन्थे,म गाउँछु केवल जनताको लागि गाउँछु।

पुरस्कार तथा सम्मान

नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमाइन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो(मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो।

खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्‍यो कि बजाउन थालिहाल्ने खालको उहाँको बानी र शौख थिए। बागीनाको प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा कान्छी मस्याङ लेखेका थिए। उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर हस्पिटलमा भएको भयो

प्रमुख एल्बमहरू

  • गीती श्रद्धान्जलीभाग १
  • गीती श्रद्धान्जलीभाग २
  • गीती श्रद्धान्जलीभाग ३
  • गीती श्रद्धान्जलीभाग ४
  • स्वर्निम सन्ध्याभाग १
  • स्वर्निम सन्ध्याभाग २
  • प्रीयशी का यादहरू
  • प्रेमको माला
  • मान्छेको माया
  • मलाई नसोध
  • लालीगुरास भएछु
  • अल्झे छ क्यारे
  • तिम्रो मनमा
  • गीतीयात्राभाग १
  • नारायणगोपालका आधुनिक गीतहरूभाग १ – भाग ९ सम्म
  • मालती मंगले(गीतीनाटक)

स्रोत : नेपाली विकिपीडिया