धुर्मुस–सुन्तलीले १२ गते बस्ती हस्तान्तरण गर्दै

By प्रकाश धिताल     

dhurmusकेकेछडटकम, काठमाडौं-कार्तिक १०,

सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले निर्माण गरेको नमुना बस्तीको काम सम्पन्न भएको छ । बस्तीमा ६५ वटा आधुनिक घर निर्मााण् भएको छ । एकीकृत बस्तीको शुक्रबार भूकम्पपीडितलाई घर हस्तान्तरण गरिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कट्टेलकी छोरी सुबिहानीले घर हस्तान्तरण गर्नेछन् । काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम र कु्ञ्जनाले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन् । एकीकृत नमुना बस्ती विस्तारबाट देश विकास हुने भएकाले क्लिन सिटी र ग्रिन सिटीको अवधारणा सहित अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री सहितको भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभागसँग समन्वय गरी निर्माण गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी मेलम्ची नगरपालिका–८ स्थित विपन्न वर्गको चयन गरेर ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदानसहितको एकीकृत बस्ती निर्माण गरिएको हो । पैँसठ्ठी घरधुरीका एक एक तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न संघसंस्थाबाट स्वयंसेवक गरी सयजनाको दैनिक श्रमबाट बस्ती निर्माण गरिएको हो ।

हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब ६ किमी उकालो लागेपछि उक्त बस्तीमा पुग्न सकिन्छ । नमुना बस्तीमा खानेपानीका लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब आठ सय मि गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउने समेत व्यवस्था मिलाइएको छ । एकीकृत नमुना बस्ती निर्माण सरकारलाई सघाउने अभियान भएको कट्टेलले बताउनुभयो । विभिन्न डाँडाकाँडामा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माणमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने कट्टेलको भनाइ छ ।