छ सय भेँडाच्याङ्ग्रा हेलम्बु डाँडामा चरिरहेका छन्

By प्रकाश धिताल     

14702473_1768390030082285_2498792270121971067_nकेकेछडटकम परिवार, काठमाडौं- कार्तिक ३,

शाकाहारी अभियन्ता विकेश श्रेष्ठले सामाजिक सञ्जालमा राखेको एउटा तस्वीरले धेरैको ध्यान खिच्यो । तस्वीरमा घरपालुवा भेँडाच्याङ्ग्राहरू बनको मृगझैँ स्वतन्त्र रूपमा जङ्गलमा चरिरहेको देखिन्छ । दशैंको बेला काटेरै खाने प्रयोजनका लागि हिमालीभेगबाट काठमाडौं ल्याइएका ती च्याङ्ग्राहरूलाई बुद्ध धर्मावलम्बी र शाकाहारी अभियन्ताहरूले व्यापारीहरूसँग किनेर जङ्गलमा छोडेका हुन् । कुनै पनि जनावरलाई काटेर खानु पाप हो भन्ने मान्यताका बौद्ध धर्मालम्वीहरूले ती च्याङ्ग्रालाई सिन्धुपाल्चोकको हेलम्बु जङ्गलमा छोडेका हुन् ।

हुन त अरू दिनहरूमा पनि उनीहरू च्याङ्ग्रा, खसीर बोकालाई मारिनबाट जोगाउनकै त्यहाँ पु–याउँछन् । दशैंको बेला त्यहाँ लगिएका पाँच सय ७२ च्याङ्ग्राले भने यो वर्ष सबैको ध्यान खिच्यो । उनीहरूले ती च्याङ्ग्रा कोहीबाट खोसेर नभई करोडौं खर्च गरेर किनेरै हेलम्बु पु–याएका हुन् ।च्याङ्ग्रा जङ्गलमा त पु–याइयो । तर धेरैको चासो रह्यो–ती जोगाइएका च्याङ्ग्राहरू यतिखेर कहाँ के गर्दै छन् होला ? प्राणीहरूलाई जोगाउने अभियानमा लागेका बौद्धगुरु आङफुरी शेर्पाले बताएका छन् – कसैलेपनि ती च्याङ्ग्रालाई जङ्गलबाट लुटेर मार्न पाएको छैन । च्याङ्ग्राहरू हेलम्बुमा स्वतन्त्रतापूर्वक बाँचिरहेका छन् ।

शेर्पाले गोठालाहरू नै राखेर च्याङ्ग्राको संरक्षण गरिएको बताए । ‘गोठ बनाएका छौँ, हेरचाहको लागि गोठालाको पनि व्यवस्था गरेका छौँ,’ उनले भने, ‘चिसोले आफैँ मरे भने फरक कुरा, नत्र हामी मर्न र मार्न दिँदैनौं ।’ विगत पाँच वर्षदेखि हेलम्बुमा लगातार भेँडाच्याङ्ग्राहरू हेलम्बुमा छाड्ने चलन छ । ‘अघिल्लो वर्ष तराईका खसीबोकाहरूलाई उद्धार गरेर त्यहाँ पु–याउँदा केही अकालमा मरेपनि,’ उनले भने, ‘अहिलेचाहिँ हिमाली क्षेत्रकै च्याङ्ग्रालाई उद्धार गरेर त्यहाँ लगेका छौँ । ती भेँडाच्याङ्ग्रा स्वतन्त्र रूपमा हेलम्बु डाँडामा बाँचिरहेका छन् ।’ ‘अरूलाई सुन्दा अचम्म लाग्ने कुरा हो तर यो हाम्रो नियमित काम हो,’ उनले भने, ‘हामी हजारौँ मिलेर प्राणीरक्षामा लागेका हौँ ।’ उनले आफूहरूले प्रति च्याङ्ग्रा १८ हजारका दरले किनेर हेलम्बु डाँडामा पु–याएको जानकारी गराए ।

‘कुनै विदेशीको समेत पैसा परेको छैन,’ उनले भने, ‘हामी थुप्रै अभियान्ता तथा सामाजिक संस्थाले खरिद गरेर त्यहाँ लगेका हौँ ।’ प्राणीरक्षाको यो अभियान गत वर्ष दिवंगत भएका क्याब्जे च्याटल साङ्गे रिम्पोछेले शुरु गराएका हुन् । उनको गत वर्ष नेपालमै एक सय तीन वर्षको उमेरमा निधन भएको थियो । रिम्पोछेले नेपाल, चीन र भारतमा पनि यस्ता अभियानहरू थुप्रै स्थानमा चलाएका छन् । यो अभियानमा अहिले पनि उनका श्रीमती, छोरी तथा हजारौँ अनुयायीहरू संलग्न रहेको बताइन्छ । प्राणीहरूलाई जीवनदान दिने यो परम्परा थेरावाद, महायान र बज्रायन अपनाउने बौद्धमार्गीहरूले अपनाउँछन् । यी बौद्धमार्गीहरू अतिकरुणाका कारण मांशभोजनसमेत गर्दैनन् ।

(लोकान्तर अनलाइनबाट)