स्याङ्जा जिल्लाकै प्रसिद्ध सतौँ चण्डी कालिका मन्दिर धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै

By प्रकाश धिताल     

12373301_769570116520051_6228007626985894855_n

केकेछडटकम परिवार- कार्तिक २, काठमाडौं ।

स्याङजा बजारबाट करिब ११ किमी टाढा रहेको यो मन्दिर हालको पुतलीबजार नगरपालिका वडा नं ८ मा पर्दछ । मन्दिरको केहीमाथि सतौँकोटे राजाले बनाएको दरबार छ जसलाई ‘कोट’ भनिन्छ । पहिलेका बाइसेचौबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने प्रचलनअनुरुप सतौँकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौँ चण्डी नामाकरण गरेको हुन सक्ने स्थानीय समाजसेवी गुरुप्रसाद ढकालले जानकारी दिनुभयो ।

यो मन्दिर सतौँका तेस्रो राजा शिरबम शाहीले निर्माण गरेको विश्वास गरिने जानकारी दिँदै उहाँले मन्दिरमा मगर जातिका पूजारीले पूजा गर्ने प्रचलन रहेको र हाल इन्द्रबहादुर रानाले पूजा गर्दै आएको बताउनुभयो । मन्दिर दर्शनका लागि दैनिक २÷३ सय मानिस सताँै चण्डी आउने गरेको र दसैँ जस्ता विशेष चाडपर्वमा भने ५÷६ हजारकै सङ्ख्यामा मानिसहरू पुग्ने गरेको ढकालले बताउनुभयो ।

सतौँका पहिलो राजा वडाबम राव र दोस्रो मिचा खान थिए । पाल्पा भगवती, बाग्लुङ कालिका, गोरखा मनकामना र चण्डीस्थानको मन्दिरमा पूजा गर्ने विधि र पूजारी पनि एउटै जातको भएकाले यी मन्दिरहरू समान शक्तिपीठ हुन् कि भन्ने अनुमान गर्न सकिन्छ ।चण्डीस्थानको अहिले देखिने मन्दिर विसं २०४५ मा पुनःर्निर्माण गरिएको हो । सतौँ चण्डी मन्दिरको आसपासमा सतौँ चण्डीस्थान, सतौँकोट, पशुपतिनाथ मन्दिर रहेका छन् । प्राचीन सतौँ राज्यभित्र दरौँ, पञ्चमूल, अर्जुन चौपारी, सातु पसल, लामागे, सतौँगाउँ फापरथुम पर्दछन् । सतौँ चण्डीको भाकल पूजा आराधना गर्नाले दुर्घटनाबाट जोगिने, सुख शान्ति र समृद्धि हुने विश्वास रहीआएको गुरुप्रसाद ढकालको भनाइ छ ।

यस मन्दिरमा पूजा वा दर्शनका लागि कास्की, पाल्पा, तनहुँ, पर्वत, बागलुङ, रुपन्देही, काठमाडौँलगायत टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् । महाशिवरात्रि, बालाचतुर्दशी, दसैँं, चैतेदसँै आदिमा मन्दिरमा मेला लाग्छ । बाजागाजासहित सङ्घसंस्था वा व्यक्तिले पनि पञ्चबली (राँगा, हाँस, पाठा, भाले, परेबा, सुगुर) दिने चलन छ । रजस्थल र सतौँ राज्यको राजधानी रहेको यो ऐतिहासिक स्थान प्राकृतिक सौन्दर्र्यले भरिपूर्ण रहेका कारण पर्याप्त पर्यटकीय सम्भावना बोकेको स्थल भएको अर्का युवा हेमचन्द्र ढकाल बताउनुहुन्छ ।

यस ठाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, मनास्लु हिमालको मनोरम शृङ्खला देख्न सकिने बताउँदै उहाँले यहाँबाट देखिने आँधीखोला, दरौँखोला, राङ्खोेलालगायत खोलाको मनोरम दृश्यले पनि पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो । कास्की, तनहुँ, पर्वत, गुल्मी र पाल्पाका अधिकांश स्थान यहाँबाट अवलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकामलगायत पुतलीबजार नगरपालिकाका साथै जिल्लाको अधिकांश भाग यहाँबाट देखिन्छ । यसका नजिकका अन्य आकर्षणमा पारिकोट डाँडा, महाछाङ, बैदीखोला, राहुलडाँडा, तामाखानी, मैदान, महाभिर, सल्यान, बाघखेल्ने ढुङ्गा, ठूलोपँधेरा, खर्सेक, रातमाटा र सिद्धबाबा हुन् ।

यसका साथै पछिल्लो समय विकासका गतिसँगै निर्माण हुँदै गएका यातायातका नागबेलीयुक्त सडक पनि पर्यटकको आकर्षण बनेका छन् । २०४२ सालमा योगी नरहरिनाथले भ्रमण गरेपछि यस क्षेत्रका स्थानीय बुद्धिजीवीको सक्रियता बढेको पाइन्छ । स्थानीयस्तरको एउटा भजन कीर्तन समूहले वैदिक सनातन धर्मको संरक्षण, सतौँ चण्डी देवनगरीधामको विकास र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले विसं २०५३ मा संस्था दर्ता गरिएको थियो ।

साथै त्यही सालमा यस क्षेत्रमा पशुपतिनाथको मन्दिर स्थापना गरियो । यस क्षेत्रको विकासका निम्ति २०५५ साल र २०७० साल गरी दुई पटक शिवपुराण महायज्ञ गरियो । २०५५ माघ २२ गते महाशिवरात्रिका दिन पशुपतिनाथमा शिवमूर्ति तथा शिवलिङ्गको प्राणप्रतिष्ठा योगी नरहरिनाथबाट भएको थियो । २०७० फागुन ८ गतेबाट १६ गतेसम्म भागवत भाष्कर कमल नयन गौतमबाट कथा वाचन तथा महायज्ञ सम्पन्न गरिएको थियो । सतौँ चण्डीको पूजा तथा दर्शनका लागि स्याङ्जा बजारबाट बाडखोला, पुतलीखेत, लामागे, आमडाँडा रजस्थल मैदानसम्म दश किमी पक्की सडकबाट सवारी साधनमा नै आवतजावत गर्न सकिने अर्का युवा प्रकाश पुरीले बताउनुभयो । पुरीका अनुसार स्याङ्जा बजार लामागेको बाँसकोट, भण्डारी गाउँ तथा खोरबार, गहते हुँदै बजारबाट दुई घण्टामा पैदल यात्रामा चण्डीस्थान पुग्न सकिन्छ ।