नेपालमा लगानी गर्ने भयो दूरसञ्चार कम्पनी सियाटेलले

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ ०४ 

images-1अब सिंगापुरको ‘साउथ इस्ट एसिया टेलिकम (सियाटेल) ग्रुप लिमिटेड’ ले नेपालमा लगानी गर्ने भएको छ । दूरसञ्चार क्षेत्रमा काम गर्न नेपाली लगानीकर्ताको २० प्रतिशत हिस्सा हुनेगरि ग्रुपले उद्योग दर्ता गरेको छ । यसका लागि दूरसञ्चार प्राधिकरणबाट सेवा सञ्चालन अनुमति भने लिन बाँकी नै छ । ‘५३ करोड स्थिर पुँजी रहने उक्त ग्रुपको ७ करोड चालू पुँजी रहने गरी लगानीको स्वीकृति लिएको हो ।’

‘बाँके जिल्ला नेपालगन्जका सोहन श्रेष्ठको २० प्रतिशत लगानी रहने गरी साउथ इस्ट एसिया टेलिकम नेपाल प्रालि दर्ता भएको छ,’ अधिकारीले बताए, ‘डेढ महिनाअघि दर्ता भएको हो ।’ श्रेष्ठको सेयर १२ लाख कित्ता कायम गरिएको छ ।

उद्योग विभागमा दर्ता भए पनि यो कम्पनीले तत्कालै सेवा सुरु गर्न भने पाउने छैन । दूरसञ्चार ऐन, २०५१ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवाको अनुमति दिन पहिलो सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । प्राधिकरणले अनुमति पत्रका लागि सूचना प्रकाशित गरेपछि मात्र कम्पनीले सेवा सुरु गर्ने निवेदन दिन पाउँछ ।

ऐनको दफा २२ का अनुसार ‘तोकिएको दूरसञ्चार सेवाबाहेक प्राधिकरणले अन्य दूरसञ्चार सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्रदान गर्नुअघि त्यस्तो सेवाका लागि प्रदान गरिने अनुमति पत्रको संख्या र दूरसञ्चारको किसिम निर्धारण गरी अनुमति पत्रका लागि निवेदन दिने म्यादसहित सूचना सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्नेछ’। सियाटेल ग्रुप सन् २०१४ मा सिंगापुरमा दर्ता भर्इ मोबार्इल र इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी हो । यसले दक्षिण पूर्वी एसियाली मुलुकमा सेवा विस्तार गर्ने कुरा वेबसाइटमा समेत उल्लेख गरेको छ ।

दूरसञ्चार सेवाका योसहित ७ वटा कम्पनी दर्ता भएका छन् । पुराना ६ मध्ये ४ वटामा प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

(श्राेत: कान्तिपुर)