गीतकार/संगीतकार राजकुमार श्रेष्ठको सांगीतिक संग्रह “राजकुमार” बिमोचन

By प्रकाश धिताल     

FB_IMG_1465040567477-1
प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ – २३ 
जिन्दगी एउटा हुन्छ ।एउटा जिन्दगीभित्र हजारौं सपनाहरु हुन्छन् । औसत मान्छेले देखेका ९९% सपनाहरु सपनामै सिमित रहन्छन् ,बाँकी १% मात्रै पूरा हुनसक्छ । त्यो पनि कठिन त्याग, तपस्या, धैर्यता,मेहनत,अवसर आदि आदिको मेल भयो भनेमात्र ।किनकि सपनाहरु फल्न फुल्न र साकार हुन सिर्फ कोरा सपना र सित्तैमा पाएको जिन्दगीले मात्र पुग्दैन । कला हुनुपर्छ ,कलालाई तिखार्ने साधना हुनुपर्छ ,साधनालाई निरन्तरता दिने दृढ इच्छाशक्ति हुनुपर्छ ,त्यसलाई प्रस्फुटन गराउने अवसर पाउनुपर्छ ।यी आदिको संयोगबाट मात्र एउटा सपना साकार हुन्छ ,विपनामा परिणत हुन्छ । एउटा मान्छेले देखेको एउटामात्र सपना उसको जिन्दगीमा पूरा भयो भनेपनि सम्झनुपर्छ उ साह्रै भाग्यमानी मान्छे हो । किनकि हत्तपत्त प्राय मान्छेहरूको सपना पूरा हुँदैनन् । जिन्दगीमा देखेको एउटा सपनालाई  पूरा गराउन सक्ने तिनै भाग्यमानी मध्येका एक हुन् सर्जक राजकुमार श्रेष्ठ ।
नवलपरासीको कावासोतीका स्थायी बासिन्दा  राजकुमार श्रेष्ठ कर्म गर्ने सिलसिलामा विगत पाँच वर्षदेखि युएईमा छन् ।’केटाकेटी छँदा अनेक बन्ने सपना देख्थें’- उनी बाल्यकाल स्मरण गर्दै भन्छन्- फिल्म हेर्न गयो ,हिरो बनौं जस्तो लाग्थ्यो । खेल हेर्यो खेलाडी बनौंजस्तो । टेलिभिजनमा समाचार हेर्दा मन्त्री बन्नु पो ठुलो कुरा जस्तो लाग्थ्यो ,किताबमा कवि साहित्यकारहरुको जीवनी पढ्दा बन्नै पर्ने यो पो हो त ! मरेर पनि सधैं अमर बनिने !! यसो गर्छु र उसो गर्छु , यो बन्छु र त्यो बन्छु भन्दाभन्दै  म त कसोकसो  शब्दहरुमा रमाउने पो भइसकेछु ! साहित्यको बिद्यार्थी भनौंन’  -उनले ठट्यौलो पारामा सुनाए । त्यतिबेला देखि शब्दको जादूमा रमाउन थालेका श्रेष्ठले शुरुमा धेरै पढे ,धेरैलाई पढे । पढ्दा पढ्दै आफैं लेख्न थाले ।
कल्पना एकातिर ,यथार्थ अर्कोतिर । मजाक मजाकमै बालापन बितेछ । यसो अगाडि हेरेको त थाप्लोभरी जिम्मेवारी ,आगतको चिन्ताले पो सताउने बेला भैसकेछ । आखिर देशमा जति प्रयास गर्दापनि हुनु के थियो र ! भएन । हान्निए विदेश । एक झमट सपना झन्डै झन्डै त्यतै तुहिन लागेको ! तर उनले भुलेनन्  आफ्ना सपना ।माथी नै भनियो नि ! सपना ,साधना, निरन्तरता ,अवसर… । जानीनजानी लेखिएका भावनाले डायरी भरिएछ । साथीहरूलाई सुनाए, वाह ! वाह ! भनिदिए । आफू भन्दा अलि जानकारलाई सुनाए तैंले केही गर्नुपर्छ केटा तेरो राम्रो छ भनेर हुटहुटी मच्चाइदिए । लौ त भनेर २०६८ सालमा “चाँदनी रातहरु” गीति संग्रह बजारमा ल्याए ।
गीति संग्रह सार्वजनिक गरेपश्चात् केही संगीतका दिग्गजहरुले सुझाए – भाइ,यसलाई संगीत दिनसके अझ राम्रो ! अहिले सुगम संगीतका प्रख्यात संगीतकार हरि लम्साल उनको नजिकका गाउँले दाजै थिए, उनी लगायत केही संगीतमा जानकारी राख्ने साथीहरूको संगतले राजकुमारमा सांगीतिक सरगमको पनि धेरथोर ज्ञान थियो ।आफ्नै शब्दहरुलाई गितारको नोटहरुमा उतार्दा उतार्दै केही गीतहरूमा संगीत भरे र तयार पारे सांगीतिक संग्रह “राजकुमार” । जसमा अहिलेका सागीतिक स्वर बजारका जल्दाबल्दा हस्तिहरु साहिमा श्रेष्ठ ,हरि लम्साल,सन्तोष लामा, सुमन सिङ्देन र आफू स्वयंको स्वरमा रेकर्ड गराए ।उक्त संग्रह गत २० मे २०१६ मा  नेपाल तामाङ कलाकार समाज युएईले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको अवसर पारेर सोही मेलोमा बिमोचन पनि गराए । उनको एउटा सपना पूरा भयो ।
सपना पूरा भैसकेको हो त ? ‘ छैन नि अब छिट्टै यस संग्रहका गीतहरुको भिडियो बनाउने छु साथै अर्को गीति संग्रह ‘नौलो बिहानी’ पनि तयार भैसकेको छ, त्यसको प्रकाशनको तयारीमा छु । त्यसका केही गीतहरुलाई संगीत भर्ने योजना पनि छ ।उनले सपनाहरुको फेहरिस्त सुनाए । मानौं अब उनी यही संगीत र साहित्यकै दुनियाँमा जिउन चाहन्छ्न्  ,यसैमा मर्न चाहन्छन् यसैमा केही गर्न चाहन्छन्  ,यसैबाट आफ्नो नामको सुवास भर्न चाहन्छ्न्  ।
श्रीमती शुभ श्रेष्ठको प्रस्तुति र विणा म्युजिकले बजारमा ल्याएको सांगीतिक संग्रह “राजकुमार” को सफलता र उनका आगे योजनाहरुले मुर्तरुप पाउन् भन्ने कामना ।