ऐतिहासिक राजारानी क्षेत्र पर्यटकको आकर्षणस्थल बन्दै

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – जेष्ठ

मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको  क्षेत्रमा होमस्टे (घरबास) को व्यवस्था भएपछि पर्यटक आकर्षित हुन थालेका छन् ।  दैनिक होमस्टेमा बस्न र राजारानी पोखरी हेर्नेको भीड बढदै गएको छ । अहिले पर्यटनको सिजन नभएपनि राजारानीमा भने पर्यटकको अभाव छैन । राजारानी पोखरी क्षेत्र ३२ हेक्टरमा फैलिएको छ । यो ठाउँ मोरङ जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर उत्तरमा अवस्थित छ ।

raja rani lake

मोरङको लेटाङ–भोगटेनी नगरपालिकाको चुरे क्षेत्रमा अवस्थित राजारानी पोखरी र त्यस आसपासको प्राकृतिक मनोरम दृश्यमा रम्न विराटनगर, धरान, दमक, धनकुटासहित विभिन्न क्षेत्रका पर्यटक पुग्ने गरेका छन् । होमस्टेमा बस्न र पोखरी हेर्नका लागि मात्र नभएर राजारानी क्षेत्रमा पाइने १०० भन्दा धेरै प्रजातिका सुनाखरी, जङ्गली कछुवा, सेतो सर्प, अजिङ्गर र विभिन्न प्रजातिका चरा हेर्न जाने पर्यटक बढेका छन्  ।

राजारानी पोखरीमा हरेक वर्ष वैशाखमा धिमालको महान् मेला लाग्ने गर्दछ । त्यहाँ झापा, मोरङ र सुनसरीका धिमाल पुग्छन् । धिमाल राजा युद्ध गर्न तल मधेस झरेपछि हार भएको र उनकी श्रीमतीले छोरीसहित पोखरीमा हाम फालेर ज्यान फालेपछि तीनवटा पोखरी राजा, रानी र छोरी पोखरी भनेर नामाकरण गरिएको किम्वदन्ती छ ।

भोगटेनी–४ राजारानीमा पाँचवटा घरमा परीक्षण स्वरुप होमस्टे सुरु गरिएको छ । त्यहाँ बस्नका लागि निश्चित नियम पनि बनाइएको छ ।