आजबाट अत्याधुनिक सेवासहितको यात्रुबस राजधानीमा सञ्चालन

By प्रकाश धिताल     

काठमाडौं, फागुन ३० । काठमाडौं उपत्यकामा आजबाट अत्याधुनिक सेवा सहितको यात्रु बस सञ्चालन गरिँदैछ । हाल सञ्चालनमा रहेका बसबाट यात्रुले पाएको सकस अन्त्य गर्ने अठोटसहित महानगर यातायात प्रालिले अत्याधुनिक सुबिधाको बस सञ्चालन गर्न लागेको दावी गरेको छ । सुरुमा सञ्चालन गरिने ३९ वटा बसमा अत्याधुनिक प्रविधी जोडिएको उक्त कम्पनीको दावी छ । सुरुमा ती बस चक्रपथमा मात्र गुड्नेछन् । झण्डै ४१ लाख खर्चमा तयार पारिएको त्यस्ता बस पछि अरु ठाउँमा पनि बिस्तार गर्ने समितिले जनाएको छ ।

बसमा महिला परिचालिका रहनेछिन् । बसका सेवाबारे जानकारी दिन मोबाइल एप्लिकेशन नै तयार गरिएको छ ।

जहाँबाट लोकेसन ट्रयाकिङ गर्न मिल्नेछ र एप्सको सहायताले बस चढ्न खोज्नेले आफ्नो निवासबाटै नजिकको दुरीमा रहेको बस र यसमा रहेका यात्रुको संख्याको जानकारी लिन सक्नेछ ।

बसमा सिसिटिभी, निःशुल्क वाईफाई र एलईडी टीभीको व्यवस्था गरिएको छ । यात्रुमाथि हुने दुव्र्यवहार र चोरी रोक्न हिडन क्यामरासमेत राखिएको छ ।

अत्याधुनिक सेवा दिएर पनि बसले भाडा दर भने सरकारले तोकेभन्दा बढी नलिने र स्थान हेरेर साविककै १३ रुपैयाँदेखि २४ रुपैयाँसम्म लिने जनाएको छ । हरेक स्टेशनमा ५ मिनेटको फरकमा बस पुग्ने व्यवस्था मिलाइएको दावी पनि गरिएको छ ।

निजी क्षेत्रले यात्रुको सुबिधाका लागि अत्याधुनिक सुबिधासहितको बस भित्र्याए पनि राजधानी काठमाडौंसहित उपत्यकाका अधिकांश सडकको हालत भने अत्यन्तै नाजुक रहेको छ ।

सडक स्तरोन्नतीका लागि सम्बन्धित निकायले पहल नगर्दा चक्रपथदेखि भित्री र बाहिरी दुबै भागका सडक हेर्नै नहुने गरी खाल्डाखुल्डीमा परिणत भएका हुन् ।

विभिन्न अनलाइनबाट संकिलत